मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 कांग्रेसले गर्याे संसद् अवरोध     मुलुकको शान्ति प्रक्रियामा अवरोध नगर्न प्रधानमन्त्री ओलीको चेतावनी     राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सर्वसम्मतिले स्वीकृत     बिराटनगरमा तनाब     लैङ्गीक मुल प्रबाहिकरको सवालमा पुरुष महिला संङ्गै एक हुनुपर्नेमा जोड      स्थानीयको विरोधपछि हेटौंडाको बसपार्कमा तौलपुलको लागि खनिएको खाडल पुरियो     नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित     बिजुली गाडी चार्ज गर्न अब 'मोबाइल' चार्जर !     अमेरिकामा हिमआँधीका कारण एक प्रहरीसहित १० को मृत्यु, लाखौँ घर बिजुली विहीन     मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता     सांसदद्वारा बमजनमाथि कारबाही गर्न माग   

राष्ट्रिय समाचार

जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल


  • राष्ट्रिय समाचार
  • 240 पटक पढिएको
धनुषा – जनकपुर – जयनगर ब्रोडगेज रेल २० दिनभित्र जनकपुर आइपुग्ने भएको छ । पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर सञ्चालन हुने रेलको लिक परीक्षणको आधा काम सकिएको छ । निर्माणाधीन रेल्वे लिगमा भारतीय इन्जिनसहितको रेल बोगी साढे १७ किलोमिटर गुडाएर परीक्षण गरिसकेको नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इञ्जिनियर विनोदकुमार ओझाले बताउनुभयो ।

जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल

रेल निर्माणको ठेक्का पाएको भारतीय इकन इन्टरनेसनल कम्पनीले आउँदो पुस महिनादेखि जनकपुर जयनगर रेलसेवा सञ्चालन गर्ने गरी लिक परीक्षणको साथै अरु बाँकी अन्तिम चरणका कामहरु धमाधम गरिरहेको जनाएको छ । लिग परीक्षण अन्तर्गत पहिलो चरणमा गएको साउन २३ सम्म भारतको जयनगरदेखि धनुषाको खजुरीसम्म साढे ८ किलोमिटर  भारतीय इन्जिनसहितको ५३ वटा रेल बोगी गुडाएर सफल परीक्षण गरिएको थियो । त्यस्तै दोश्रो चरणमा ९ किलोमिटर बोगीसहितको रेल धनुषाको खजुरीदेखि दुहवीसम्म परीक्षण गरिएको छ । परीक्षण गर्ने रेल शनिबार धनुषाको दुहवी आईपुगेको ईञ्जिनियर ओझाले जानकारी दिनुभयो । पहिलो चरणमा हुने जयनगरदेखि जनकपुरको कुर्थासम्मको रेल सञ्चालनको ३५ किलोमिटरमध्ये आधा अर्थात साढे १७ किलोमिटर लिकको सफल  परीक्षण सकिएको छ । अव मात्र आधा अर्थात साढे १७ किलोमिटर लिक परीक्षण गर्न बाँकी छ ।
परीक्षण गर्ने रेलको बोगीमा रेल्वे ट्रयाकमा हाल्ने कालो गिट्टी जयनगरबाट ल्याउने काम पनि भइरहेको छ । रेल्वेबाट सबै बोगीमा ५, ६ पटक ट्रयाकमा हाल्ने कालोगिट्टी ल्याई बिछ्याउने काम पनि भैरहेको ओझाले बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिलेकै गतिमा काम भयो भने  २० दिन भित्र परीक्षण गर्ने ५६ वटा बोगी सहितको रेल जनकपुरको कुर्था आइपुग्ने निश्चित छ ।’ विगत ५ वर्षदेखि बन्द रहेको जनकपुर–जयनगर रेलसेवा पुसदेखि सञ्चालनमा ल्याउने तयारी छ । जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटरको लिकमा रेल सञ्चालन हुनेछ । जनकपुर जयनगर रेल्वे सञ्चालनको लागि लिगमा वेल्डिङ गर्ने काम पनि अन्तिम चारणमा पुगेको छ । जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर लम्बाइको रेल्वे मार्ग ३ खण्डमा बनिरहेको छ । परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरण अन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र  तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालन हुने छ । 

यस अन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनको काम अन्तिम चरणमा पुगेको छ भने दोस्रो चरणमा हुने सञ्चालन हुने जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरमा लिग निर्माणको काम चलिरहेको छ । तेश्रो चरणमा हुने भंगहादेखि बर्दिवास १७ किलोमिटर रेल्वे सञ्चालनको लागि जग्गा अधिग्रहणको विवादले काममा ढिलाई भइरहेको छ । तर जग्गा अधिग्रहणको काम पनि अगाडि बढेकाले तेश्रो चरणको काम पनि चाँडै सुरु हुने ईञ्जिनियर ओझाको भनाई छ । ‘जनकपुर जयनगर रेल्वे सेवा सञ्चालन भएको ६ महिना भित्र दोस्रो चरणमा कुर्थादेखि भंगहासम्म रेल सेवा सञ्चालन हुन्छ’ ओझाले भन्नुभयो ‘तर तेश्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म सञ्चालन हुने रेल्वे सेवाको काम प्रभावित भएको छ । त्यसको लागि पनि त्यस लिकमा पर्ने जग्गा अधिग्रहणको काम भइरहेको छ । ’
भारतको जयनगर–जनकपुर तथा जनकपुरदेखि महोत्तरीको बिजुलपुरा हुँदै बर्दिवाससम्म ६९ किलोमिटर पर्छ । जसमध्ये जयनगरदेखि नेपाली सीमा इनरुवासम्म ३ किलोमिटर भारतीय भूमि रहेको छ । सम्झौता अनुसार जनकपुरदेखि बिजुलपुरासम्म रेल सेवा २०१६ मेसम्म सञ्चालन गर्नुपर्ने थियो । तर, आन्तरिक तथा बाह्य कारणले झण्डै अढाई वर्ष ढिलो गरी रेल सेवा सञ्चालन हुने भएको हो ।

भारतसँग भाडामा लिएर गुड्छ रेल

जनकपुर जयनगर रेल्वे लिक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आउँदो पुस महिनादेखि रेल सेवा सञ्चालन हुने पनि करिब करिब निश्चित जस्तै छ । तर नेपालसँग आफ्नो रेल छैन भने रेल सञ्जाल निर्माण, रेल खरिदलगायतको काम पनि बाँकी नै रहेको छ । जनकपुर–जयनगर रेल्वे पुनस् सञ्चालन र निर्माणका लागि पुरै भारतको भर पर्नुपरेको छ । नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इन्जिनियर विनोदकुमार ओझाका अनुुसार तत्कालै रेल र इञ्जिन किन्न सम्भव छैन । ‘रेल इञ्जिन तथा बोगी निर्माण गर्ने कम्पनीले एक–डेढ वर्षमा मात्र इञ्जिन तथा बोगी निर्माण गर्न सक्छन्’, उहाँले भन्नुभयो ‘त्यसैले निर्माण कम्पनीलाई पहिला नै अर्डर दिनुपर्छ । तर जे भए पनि आउँदो पुसदेखि भाडामै लिएर भए पनि रेल सेवा सञ्चालन हुन्छ ।’ रेल विभागमा रेल इञ्जिन र बोगी लिजमै लिएर भए पनि सञ्चालनमा ल्याउने छलफल चलिरहेको  ओझाले बताउनुभयो । उहाँले भन्नुभयो ‘ रेल्वे ट्रयाक बनिसकेपछि जसरी पनि रेल गुड्छ । यसमा दुईमत छैन ।’ वि।स। १९९४ सालमा जनकपुर–जयनगर रेल सेवा सुरु भएको थियो । अंग्रेजहरुले नेपालबाट काठ ढुवानी गर्न भारतको जयनगरदेखि बिजलपुरासम्म रेल चलाएका थिए । पछि जनकपुरदेखि जयनगरसम्म मात्र रेल्वे सेवा सीमित भयो । पूर्वी क्षेत्रका बासिन्दाका लागि एक मात्र यातायातको साधनको रुपमा रहेको जनकपुर जयनगर रेल्वे सेवा बन्द भएपछि धनुषाको पूर्वी भेगका बासिन्दा प्रभावित बनेका छन् ।

Ujjwalo.com







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top